Friday, July 31, 2015

हस्तक्षेपका विरुद्धमा

           भारतीय भूमी त्यसमा पनि दार्जीलिङमा नेपाली भाषा साहित्यको महत्व विशेष किसिमको छ । ब्रिटिस साम्राज्यले जरा गाडेका बेला होस या बंगाली शासकहरुका अहंका विरुद्ध होस नेपाली भाषा साहित्यले नेपाली जातीको जातीय एकिकरणका लागि खेलेको भूमिका प्रशंशनिय छ ।
भारतीय परिवेशमा नेपाली भाषा साहित्य कहिले जातीय मुक्ति आन्दोलनको दरिलो माध्यम बनेको प्रमाण पाइन्छ भने कहिलेकाहिँ देखापर्ने साहित्यिक विचलनले उक्त आन्दोलन लाई कमजोर पनि बनाएको छ । सामाजिक यथार्थतालाई प्रतिविम्वित गर्नु दार्जीलिङे नेपाली साहित्यको विशेषता भएता पनि पश्चिमा भाषा, साहित्य र संस्कृतिको प्रत्यक्ष असर बाट यो साहित्य पनि टाढा हुन भने सकेको छैन । त्यति मात्र होइन त्यस भूमीको प्रतिनिधित्व गर्ने साहित्यिक कृतिहरुको रचना गर्नुभन्दा पश्चिमा मुलुकहरुमा विकसित सिद्धान्तहरुको अन्धानुशरण गरिनाले भारतीय नेपाली साहित्यले आफ्नोपना गुमाउँदै गएको तितो यथार्थता पनि लुकाउन मिल्दैन ।
      तर समाज र साहित्यलाई एक अर्काका अभिन्न अङ्ग मान्ने साहित्यकारहरु अहिले पनि सामाजिक यथार्थतालाई साहित्यमा लिपिबद्ध गरिरहेकै छन् । समाजमा देखिएका वेथिति र विसङगतिका बिरुद्ध वकालत गरिरहेकै छन् । दमन र उत्पीडनका खिलाफ आवाज उठाइरहेकै छन् । यस्तै आवाज उठाइरहेका छन् दार्जीलिङे कवि राजा पुनियानी कविताका माध्यमबाट ।
उनको भर्खरै प्रकाशित शृङ्खला कविता संग्रह अर्को लश्कर माथी उल्लेखित सबै किसिमका हस्तक्षेपका विरुद्धमा मुक्तिको आवाज हो । यो संग्रहले नाम भएर पनि गुमनाम बनाइएका हाम्रै सडकपेटी र भीडहरुमा भेटिने आम सर्वसाधारण जनताहरुको पीडा बोल्छ, गुमानसिंहहरूको, कालेहरुको आवाज बोल्छ, अनि हक खोसिएका हर्कबहादुरहरूको व्यथा बोल्छ ।
          अज्ञात बनाइएका यस्तै प्रतिनिधि पात्रहरूले “अघोषित संकटकाल” को यातना खेप्नु परेको कुरा कविले कवितामा उठाएका छन् । उनीहरुको थाप्लाभरि विवशताको ठूलो भारी छ, कहिल्यै नसकिने पीडा छन्, वाध्यात्मक गुलामी छ । त्यसैले कवि अन्याय, अत्याचार र हेपाइ नसहन गुमानसिंहहरुलाइ आव्हान गर्छन ः
          थाप्लोको नाम्लो खिइएर सकिन्छ
          तर भारी सकिँदैन
          गुमानसिंह ।
          सिद्धान्त र प्रयोगको बीचको ठूलो खाडलले कविमा आक्रोश जन्माएको छ । एकातर्पm गणतन्त्र “जनताले, जनताकै निम्ति र जनतालाई” भन्ने र अर्कातर्पm तिनै जनताका “घाउकै मुखमा थ्याच्च बसेर÷... ऐतिहासिक खून पसिना” चाट्ने जालि सरकारप्रति क्रुद्ध छन् कवि तर निर्भिक छन् किनकि उनी विश्वस्त छन उनको विचार कारगारमा थुनिनेवाला छैन ।
       
          त्यसैले कवि पुनियानीले जनतालाई आवाज नभएका लाचार, उदास, सीमान्तिकृत नबनी निर्भिकताका साथ हस्तक्षेपलाई हस्तक्षेप गर्न अनुरोध गरेका छन । निरंकुशताका बिरुद्द गोलबद्ध हुन आव्हान गरेका छन् । उत्पीडनका बिरुद्ध आगो बाल्न सुझाएका छन् । सँगसँगै कबितालाई मुक्तिको नारा बनाउन श्रष्टाहरुलाई सल्लाह पनि दिएका छन् ।
साथै सत्ताको दमनमा थिचिएका र पिल्सिएका आम नागरिकलाई कुम्भकर्णे निद्रामा नपर्न, चेतना शून्य नहुन विनम्र अनुरोध गरेका छन् र एक भएर शोषक सत्ताका विरुद्ध जाइलागे सत्ता निदाउन नसक्ने तर्क प्रस्तुत गरेका छन् ।
          तपाईं निदाउँदा
          उ जागिरहेको हुन्छ
          तपाईं जागेको दिन
          उ निदाउनै सक्दैन ।
          “दुःश्वप्न भन्दा भयावह÷दुर्घट्ना भन्दा कुरूप÷ र औंसी भन्दा अँध्यारो” शोषणलाई दार्जिलिङ्गेहरूले लामो समयसम्म सहँदै आए पनि अब तिनका विरुद्ध जाइलाग्न र आफ्ना अधिकार प्राप्तिका लागि कुनै पनि सम्झौता नगर्न कविले खवरदारी गरेका छन् । किनकि हर्कबहादुर, गुमानसिंह,  दलसिंह, जेठाहरू सबैलाई थाहा छ कि दार्जिलिङका प्रत्येक कुना कुनामा उनीहरूका “बाजे–बोजूको खुन”, “आमाबाबुको पसिना” उनीहरूका “आफ्नै हातको ठेला” र श्रीमतीका “फुटेका... अम्लाहरू” को मेहनत छ । तबत उनीहरूको रगत उम्लिएर आउँछ र हस्तक्षेपका विरुद्ध प्रहार गर्न तैयार हुन्छन् । त्यसैले अन्यायमा परेका जनता, उनका विचारमा, “कुना” बनेर ‘बोल्ने’, ‘बौलिने’, ‘हल्लिने’ र अन्त्यमा ‘भत्किने’ सल्लाह गर्दैछन् ।
          सत्ता र शक्तिको खुडकिलोमा टेकेर निमुखा जनताहरूप्रति आश्वासन मात्र बाँड्ने तर उनीहरूको पीडामा साथ नदिने शासन व्यवस्थालाई पुनियानीले कविताका माध्यमबाट आक्रमण गरेका छन् । जनता विकासका पोकाहरू बोक्ने उज्यालोलाई पर्खिरहेका छन्, र आगो बनेर निरङ्कुशतालाई जलाउन चाहान्छन् ।
          कविले वेइजिङ, ह्वाइट हाउस र दिल्लीमा भर पर्नु पर्ने नेपालको विवसता र ‘भोटाङ’ का रिजालहरूको पीडा पनि कवितामा पोखेका छन् । उनको रोष छ समयानुकुल परिवर्तन नभएका पाठ्यक्रम प्रति । सानालाई मात्र लाग्ने कानून प्रति । रक्त पिपाषु सत्ता प्रति र समग्रमा सबै किसिमका हस्तक्षेप प्रति ।
          यसरी यो कृति वेवास्ताका सिकार बनेका पात्रहरूको वास्तविक कथा हुँदाहुँदै पनि कतिपय ठाउँमा कवितात्मकता अपहरण हुँदा पाठकलाई खिन्न लाग्छ ।  कवितामा पीडाका विरुद्ध आन्दोलित बनाउने ताकत त छ तर अनुच्छेद जस्ता लाग्ने कविताका हरफहरुले पाठकलाई म कविता पढ्दैछु वा कथा, अन्यौलमा पार्छन ।
          नेपाली शब्दहरू प्रयोग गर्ने सम्भावनाहरू हुँदैहुँदै प्रयोग गरिएका अंग्रेजी शब्दहरू जस्तै – स्याडिस्ट, टेक्नोलोजीले कविताको सौन्दर्यलाई घटाएका छन् । कविताका हरफहरू बोल्ड अक्षरमा लेखेर पाठकको ध्यान आकर्षण गर्नु भन्दा पाठकहरूलाई नै मूल्याङ्कनको जिम्मा दिएको भए उचित हुने थियो  किनकि कविताको महत्वपूर्ण पंक्तिहरू पत्ता लगाउनु लेखकको भन्दा पाठकको जिम्मेवारी हो ।
          कविले लेखनशैलीमा एक्सपेरिमेन्टेसन (प्रयोग) गरेका छन् । रूपले सारलाई निर्धारण गर्छ भन्ने सैद्धान्तिक मान्यतालाई अनुसरण गर्न खोजेका छन् । “कुना”लाई बिम्बको रूपमा प्रयोग गरेका छन् अनि “बेलुन” लाई प्रजातन्त्रसँग र “देश” लाई गहिरो पोखरीसँग तुलना गरेका छन्, तेह्रवटा कवितालाई चार लस्करमा लेखेका छन् ।
          यसरी अर्को लस्कर शृङ्खला कविताका माध्यमबाट कवि पुनियानीले उत्पिडनमा परेका जनताको आवाज मात्र बोलेका छैनन् कि कुनै पनि प्रकारका थिचाइएका विरुद्ध लड्नका लागि अभिप्रेरित पनि गरेका छन् । धेरैजसो कवितामा उनले राज्यव्यवस्थाका वेवास्ताका सिकार बनेका, नाम भएर पनि अज्ञात बनाइएका आम नागरिकहरूको यथार्थता चित्रण गरेका छन् । उनले कविताकै माध्यमबाट त्यस्ता उत्पिडन र थिचाइएका विरुद्ध आगो बाल्नु पर्ने सन्देश भएको यो कृति पठन योग्य छ ।

No comments:

Post a Comment