Showing posts with label Nagarik daily. Show all posts
Showing posts with label Nagarik daily. Show all posts

Saturday, September 26, 2015

तादीकिनारको अन्तर्कथा (समिक्षा) Nagarik daily





रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् ।

बीसौं शताब्दीका एक महान बिश्लेषकको यो भनाइले  उपन्यासको बढ्दो ख्यातिलाई पुष्टी गर्दछ । यही निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक बिधालाई अभिव्यक्तिको माध्यम बनाएका छन् कवि तथा समालोचकको छवि बनाइसकेका महेश पौड्यालले आफ्नो दशौं साहित्यिक कृतिको रुपमा “तादी किनारको गीत” नामक उपन्यास बजारमा ल्याएर ।
बुक आर्ट नेपालले प्रकाशन गरेको उक्त पुस्तकले दोलालघाटको माझी गाउँबाट विभिन्न कारणले बसाइँ सरेर नुवाकोटको तादी नदीको किनारामा गएर बसेका माझीहरू तादी किनारमा पसिना, पिडा र मिहिनेतका सुनकोसी र इन्द्रावतीहरू बगाइरहेका छन् भन्ने यथार्थलाई उपन्यासको बिषयबस्तु बनाइएको छ ।
युवा तथा वयस्कलाई लक्षित गरेर तथा कल्पनाको कलेबर लगाएर परम्परागत कथावाचन शैलीमा लेखिएको यो एक यथार्थवादी उपन्यास हो । यसमा सामाजिक र मनोवैज्ञानिक यथार्थवादका प्रशस्तै दृष्टान्तहरू छन् । बिश्लेषक रोबर्ट स्कोल्सले तर्क गरेका छन् — उपन्यास यथार्थवादी हुनका लागि उपन्यासमा प्रयुक्त शव्दावलीहरू समाजशास्त्र र मानवशास्त्रवाट लिइएका हुनुपर्छ, प्रयोग गरिएका पात्रहरू आफ्नै परिवेशका हुनुपर्छ र उनीहरूले आफ्नै कथा भनिरहेका हुनुपर्छ । स्कोल्सको भनाइलाई पुष्टि गर्ने पात्र, परिवेश र शब्दावलीहरू यस उपन्यासमा यत्रतत्र भेटिन्छन् ।

सत्ताकेन्द्रित सङ्कथनले न्याय गर्न नसकेको माझी समुदाय यस उपन्यासको केन्द्रमा छ र उनीहरूकै जीवनको  वरिपरि यो उपन्यास घुम्छ । उनीहरूको जीवनपद्धति, संस्कृति, संस्कार र रहनसहनका राम्रा नराम्रा पक्ष उपन्यासमा वर्णित छन् । दृष्टान्तका लागि, माझीहरूको निजी विशेषता  लखुमलाई सुनाउँदै काहिँला माझीबा भन्छन् “हेर्, हामी माझी हौ । हाम्रो समाजमा आइमाईलाई थिचोमिचो गर्नु , कुटपिट गर्नु महापाप हो । बुझिस् ? दुिखनीलाई सधँै माया गरेस् ...छोराछोरी जे जन्मिए पनि बराबर माया गरेर पालेस् तालेस् । पाहुना पासा आउँदा माछा खुवाएर आदरपूर्वक राखेस् । बर्षको पहिलो दिन मारेको पहिलो माछा कुलदेवीलाई चढाएस् । . . . गाईभैँसीलाई कहिल्यै दुःख नदिनू अनि छोराछोरीलाई पनि त्यही सिकाउनू । बुढापाकाको सधैँ आदर गर्नू । कहिल्यै मुख नलाग्नू  ।”
यति सभ्य र शालीन जीवनशैली भएका माझीहरूको जीवनमा भने सधैंभरि ग्रहण लागिर¥ह्यो । उनीहरू निधारबाट पसिनाका तादी र आँखाबाट सुनकोशी र इन्द्रावती बगाइरहे । “भोकाउनु र भोकाइरहनु” उनीहरूको बिवशता बन्यो । यिनै बिवशहरूको उपन्यास हो “तादी किनारको गीत” ।
यस उपन्यासका पात्रहरू सवाल्र्टन हुन् तर उनीहरूको सचेतता भने गज्जबको छ । माझीबा समझदार छन्, माझीहरूका अभिभावक हुन्, परिस्थिति अनुसार सहि निर्णय गर्छन्, तिल्केले कसैलाई कहिल्यै धोका दिदैन । सायद उपन्यासकारले यो उपन्यास मार्फत भन्न चाहान्छन्—कानूनी तथा संवैधानिक ब्यवस्थालाई मात्र परिवर्तन गरेर लक्षित समुदायमा आशातित परिवर्तन ल्याउन सकिदैन । लक्षित वर्गको सोच्ने क्षमता, कल्पना  शैलीलाई परिवर्तन ल्याउनु पहिलो दायित्व हो । त्यसो गर्दा सम्बन्धित समुदायकै भाषा र परिवेशबाट कथा उन्नुपर्छ भन्ने लेखकीय दृष्टिकोण देखिन्छ, यद्यपि उनले माझीले नै बोल्ने भाषाशैली भने प्रयोग गरेका छैनन् ।
उनै समालोचक बाख्तिनले भन्ने गरेको “हेटेरोग्लोसिया÷पोलिग्लोसिया” अर्थात बहुभाष्यको विशेषता यस उपन्यासमा पनि भेटिन्छ । पौड्यालका अन्य कृतिहरूलाई जस्तै यस पुस्तकलाई पनि वालमनोविज्ञानको  दृष्टिबिन्दुबाट व्याख्या बिश्लेषण गर्न सकिन्छ । बिकवा र मालश्रीको पे्रमकथा, लखुम र दुखिनीका बाल्यकालको मनोविज्ञान, जानुकीको लखुमप्रतिको चाह, मचुङ्गेनी भाउजूकी छोरी बुल्कीले दश बर्षकी हुँदा देखाएको व्यवहार त्यसका आधारहरू हुन् । साथै यो उपन्यासले वयस्क प्रेमीहरूका मानसपटलमा आउने भावनाहरूलाई पनि संवोधन गरेको छ ।
लेखकले बालविवाहको विरोध गरेका छन्, यस्ता सामाजिक कुरीति यथासम्भव छिटो अन्त्य  गर्नुपर्ने चाह लेखकमा छ । एउटा लहडको निर्णयले बालखमै निश्चित हुने बिवाह र त्यसका दुष्परिणामलाई समेत समाविष्ट गरेका छन् । विश्वव्यापीकरणले माझीहरूको पेशामा पारेको प्रभावप्रति पनि लेखक सजक छन् । माझीहरूको पुखर््यौली देखिको पेशालाई मोटरबोटले विस्थापन गरेपछि निराश बनेका लखुमहरू थातथलो नै छाडेर बसाइँ सरेका छन् ।
कथाकी एक प्रमुख पात्र ‘दुखिनी’को भाग्य उनकै नाम जस्तै छ । उनी हाम्रै समाजकी एक प्रतिनिधि पात्र हुन् । उनका पनि हाम्रा जस्तै कयौं ससाना सपनाहरू छन् र हाम्रा पनि उनका जस्तै कयौं सपनाहरू अधुरै र अपुरै छन् । उनको धरहरा हेर्ने रहर सपनामा मात्र सिमित भएजस्तै हाम्रा पनि कयौं रहरहरू सपनामैं सिमित छन् । ‘कुमार’ जस्ता समाजमा आतङ्क फैलाउनेहरू पनि प्रशस्तै छन् हाम्रो समाजमा । उनीहरू मानवता बुझ्दैनन् र गरिबका श्रमहरू  लुटिरहन्छन्, निधारबाट सुनकोशी बगाउनेको पिडा बुझ्दैनन र थिचोमिचो गरिरहन्छन् । ‘लखुम’ जस्ता मिहिनेती माझीहरू पनि छन् हाम्रो समाजमा, गरिब हुनुका पिडा छन् उसका जस्तै हामीसँग । ऊ भोक लागे पनि नलागेको अभिव्यक्ति दिन्छ, गरिब छ तर मानवता छ, मजदुरी गर्छ तर आत्मा बेच्दैन ।
यथार्थवादी कथा हुँदाहुँदै पनि आख्यानात्मक कृति भएकोले कल्पनाको संसार पनि सानो छैन । बिकवाले आफू सात वर्षको हुँदो कल्पेको संसार उसको उमेर भन्दा ठूलो छ ।
लक्षित समुहले बुझ्ने भाषाको उपन्यास बोधगम्य छ ।  सामान्य भाषगत त्रुटिहरू भएपनि पाठकलाई  रुँदारुँदै हसाउने र हाँस्दाहाँस्दै रुवाउने क्षमता राख्ने यो कृति कमै मात्र लेखिने युवा–वयष्क साहित्यको एक कोशेढुङ्गा नै हो । केही सामान्य वेमेलहरू छन्, जसको जवाफ लेखकले दिनुपर्ने हुनसक्छ पाठकलाई । उदाहरणार्थ, सबैको न्यायको कुरा गर्ने पौड्यालले सुर्पणखालाई कुरुपताको विम्बको रुपमा चित्रण गरेर पुरानो विभेदकारी सङ्कथलाई दोहो¥याएका त होइनन् ?