Saturday, September 26, 2015

तादीकिनारको अन्तर्कथा (समिक्षा) Nagarik daily





रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् ।

बीसौं शताब्दीका एक महान बिश्लेषकको यो भनाइले  उपन्यासको बढ्दो ख्यातिलाई पुष्टी गर्दछ । यही निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक बिधालाई अभिव्यक्तिको माध्यम बनाएका छन् कवि तथा समालोचकको छवि बनाइसकेका महेश पौड्यालले आफ्नो दशौं साहित्यिक कृतिको रुपमा “तादी किनारको गीत” नामक उपन्यास बजारमा ल्याएर ।
बुक आर्ट नेपालले प्रकाशन गरेको उक्त पुस्तकले दोलालघाटको माझी गाउँबाट विभिन्न कारणले बसाइँ सरेर नुवाकोटको तादी नदीको किनारामा गएर बसेका माझीहरू तादी किनारमा पसिना, पिडा र मिहिनेतका सुनकोसी र इन्द्रावतीहरू बगाइरहेका छन् भन्ने यथार्थलाई उपन्यासको बिषयबस्तु बनाइएको छ ।
युवा तथा वयस्कलाई लक्षित गरेर तथा कल्पनाको कलेबर लगाएर परम्परागत कथावाचन शैलीमा लेखिएको यो एक यथार्थवादी उपन्यास हो । यसमा सामाजिक र मनोवैज्ञानिक यथार्थवादका प्रशस्तै दृष्टान्तहरू छन् । बिश्लेषक रोबर्ट स्कोल्सले तर्क गरेका छन् — उपन्यास यथार्थवादी हुनका लागि उपन्यासमा प्रयुक्त शव्दावलीहरू समाजशास्त्र र मानवशास्त्रवाट लिइएका हुनुपर्छ, प्रयोग गरिएका पात्रहरू आफ्नै परिवेशका हुनुपर्छ र उनीहरूले आफ्नै कथा भनिरहेका हुनुपर्छ । स्कोल्सको भनाइलाई पुष्टि गर्ने पात्र, परिवेश र शब्दावलीहरू यस उपन्यासमा यत्रतत्र भेटिन्छन् ।

सत्ताकेन्द्रित सङ्कथनले न्याय गर्न नसकेको माझी समुदाय यस उपन्यासको केन्द्रमा छ र उनीहरूकै जीवनको  वरिपरि यो उपन्यास घुम्छ । उनीहरूको जीवनपद्धति, संस्कृति, संस्कार र रहनसहनका राम्रा नराम्रा पक्ष उपन्यासमा वर्णित छन् । दृष्टान्तका लागि, माझीहरूको निजी विशेषता  लखुमलाई सुनाउँदै काहिँला माझीबा भन्छन् “हेर्, हामी माझी हौ । हाम्रो समाजमा आइमाईलाई थिचोमिचो गर्नु , कुटपिट गर्नु महापाप हो । बुझिस् ? दुिखनीलाई सधँै माया गरेस् ...छोराछोरी जे जन्मिए पनि बराबर माया गरेर पालेस् तालेस् । पाहुना पासा आउँदा माछा खुवाएर आदरपूर्वक राखेस् । बर्षको पहिलो दिन मारेको पहिलो माछा कुलदेवीलाई चढाएस् । . . . गाईभैँसीलाई कहिल्यै दुःख नदिनू अनि छोराछोरीलाई पनि त्यही सिकाउनू । बुढापाकाको सधैँ आदर गर्नू । कहिल्यै मुख नलाग्नू  ।”
यति सभ्य र शालीन जीवनशैली भएका माझीहरूको जीवनमा भने सधैंभरि ग्रहण लागिर¥ह्यो । उनीहरू निधारबाट पसिनाका तादी र आँखाबाट सुनकोशी र इन्द्रावती बगाइरहे । “भोकाउनु र भोकाइरहनु” उनीहरूको बिवशता बन्यो । यिनै बिवशहरूको उपन्यास हो “तादी किनारको गीत” ।
यस उपन्यासका पात्रहरू सवाल्र्टन हुन् तर उनीहरूको सचेतता भने गज्जबको छ । माझीबा समझदार छन्, माझीहरूका अभिभावक हुन्, परिस्थिति अनुसार सहि निर्णय गर्छन्, तिल्केले कसैलाई कहिल्यै धोका दिदैन । सायद उपन्यासकारले यो उपन्यास मार्फत भन्न चाहान्छन्—कानूनी तथा संवैधानिक ब्यवस्थालाई मात्र परिवर्तन गरेर लक्षित समुदायमा आशातित परिवर्तन ल्याउन सकिदैन । लक्षित वर्गको सोच्ने क्षमता, कल्पना  शैलीलाई परिवर्तन ल्याउनु पहिलो दायित्व हो । त्यसो गर्दा सम्बन्धित समुदायकै भाषा र परिवेशबाट कथा उन्नुपर्छ भन्ने लेखकीय दृष्टिकोण देखिन्छ, यद्यपि उनले माझीले नै बोल्ने भाषाशैली भने प्रयोग गरेका छैनन् ।
उनै समालोचक बाख्तिनले भन्ने गरेको “हेटेरोग्लोसिया÷पोलिग्लोसिया” अर्थात बहुभाष्यको विशेषता यस उपन्यासमा पनि भेटिन्छ । पौड्यालका अन्य कृतिहरूलाई जस्तै यस पुस्तकलाई पनि वालमनोविज्ञानको  दृष्टिबिन्दुबाट व्याख्या बिश्लेषण गर्न सकिन्छ । बिकवा र मालश्रीको पे्रमकथा, लखुम र दुखिनीका बाल्यकालको मनोविज्ञान, जानुकीको लखुमप्रतिको चाह, मचुङ्गेनी भाउजूकी छोरी बुल्कीले दश बर्षकी हुँदा देखाएको व्यवहार त्यसका आधारहरू हुन् । साथै यो उपन्यासले वयस्क प्रेमीहरूका मानसपटलमा आउने भावनाहरूलाई पनि संवोधन गरेको छ ।
लेखकले बालविवाहको विरोध गरेका छन्, यस्ता सामाजिक कुरीति यथासम्भव छिटो अन्त्य  गर्नुपर्ने चाह लेखकमा छ । एउटा लहडको निर्णयले बालखमै निश्चित हुने बिवाह र त्यसका दुष्परिणामलाई समेत समाविष्ट गरेका छन् । विश्वव्यापीकरणले माझीहरूको पेशामा पारेको प्रभावप्रति पनि लेखक सजक छन् । माझीहरूको पुखर््यौली देखिको पेशालाई मोटरबोटले विस्थापन गरेपछि निराश बनेका लखुमहरू थातथलो नै छाडेर बसाइँ सरेका छन् ।
कथाकी एक प्रमुख पात्र ‘दुखिनी’को भाग्य उनकै नाम जस्तै छ । उनी हाम्रै समाजकी एक प्रतिनिधि पात्र हुन् । उनका पनि हाम्रा जस्तै कयौं ससाना सपनाहरू छन् र हाम्रा पनि उनका जस्तै कयौं सपनाहरू अधुरै र अपुरै छन् । उनको धरहरा हेर्ने रहर सपनामा मात्र सिमित भएजस्तै हाम्रा पनि कयौं रहरहरू सपनामैं सिमित छन् । ‘कुमार’ जस्ता समाजमा आतङ्क फैलाउनेहरू पनि प्रशस्तै छन् हाम्रो समाजमा । उनीहरू मानवता बुझ्दैनन् र गरिबका श्रमहरू  लुटिरहन्छन्, निधारबाट सुनकोशी बगाउनेको पिडा बुझ्दैनन र थिचोमिचो गरिरहन्छन् । ‘लखुम’ जस्ता मिहिनेती माझीहरू पनि छन् हाम्रो समाजमा, गरिब हुनुका पिडा छन् उसका जस्तै हामीसँग । ऊ भोक लागे पनि नलागेको अभिव्यक्ति दिन्छ, गरिब छ तर मानवता छ, मजदुरी गर्छ तर आत्मा बेच्दैन ।
यथार्थवादी कथा हुँदाहुँदै पनि आख्यानात्मक कृति भएकोले कल्पनाको संसार पनि सानो छैन । बिकवाले आफू सात वर्षको हुँदो कल्पेको संसार उसको उमेर भन्दा ठूलो छ ।
लक्षित समुहले बुझ्ने भाषाको उपन्यास बोधगम्य छ ।  सामान्य भाषगत त्रुटिहरू भएपनि पाठकलाई  रुँदारुँदै हसाउने र हाँस्दाहाँस्दै रुवाउने क्षमता राख्ने यो कृति कमै मात्र लेखिने युवा–वयष्क साहित्यको एक कोशेढुङ्गा नै हो । केही सामान्य वेमेलहरू छन्, जसको जवाफ लेखकले दिनुपर्ने हुनसक्छ पाठकलाई । उदाहरणार्थ, सबैको न्यायको कुरा गर्ने पौड्यालले सुर्पणखालाई कुरुपताको विम्बको रुपमा चित्रण गरेर पुरानो विभेदकारी सङ्कथलाई दोहो¥याएका त होइनन् ?

Friday, September 18, 2015

नदीको सूरमा निग्रोको आत्मगीत [अनुबाद]


http://www.ekabita.com/%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a4%e0%a5%8d/
                                                                                     कवि : ल्याङ्गस्टन ह्यूजे (१९०२–१९६७)
अनुबादक : राजकुमार बराल
नदीको सूरमा निग्रोको आत्मगीत

धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान ।
मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ
मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

मिर्मिरेहरू कलिलै हुँदा मैले युफ्रेट्स नदीमा नुहाएँ ।
एउटा झुप्रो बनाएँ कङ्गो नदी तटमा र नदीले मेरा लागि लोरी गायो ।
मैले नील नदीतिर आँखा बिछ्याएँ, र त्यसमाथि पिरामिड ठड्याएँ
जब एबि लिङ्कन न्यू ओल्र्याण्डबाट झरे, मैले मिसिसिपिको गाना सुनेँ
र देखेँ सूर्यास्तमा यसको धमिलो छाति पहेँलो रङ्गमा बदरिहेको ।

मलाई नदीहरूको बारेमा थाह छ :
प्राचिन, गोधुली नदीहरू ।

मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।

कविता समर्पण : डबल्यू इ. बि. डूबोइस