Sunday, March 20, 2016

सुदूरबाट विनित विद्रोह (Review)



कविता कस्तो हुनुपर्छ वा कस्तो हुनुहुँदैन ? कवितामा के लेख्ने र के नलेख्ने ? कविता कस्का लागि लेख्ने ? आदि वर्षौदेखि उठ्दै आएका उत्तरित तर विवादित प्रश्न हुन । ग्रीक विचारक प्लेटो कवि र कविताका विरोधी थिए । उनी कविलाई देशनिकाला गर्नुपर्ने तर्क राख्थे । उनका विचारमा कविताले उद्वेगहरूलाई सिञ्चित गराउँछ र यथार्थताबाट टाढा लैजान्छ । तर रोमन साम्राज्यमा कविलाई ‘भेट्स्’ अर्थात विचारक मानिन्थ्यो, अनि कवि र कविताको सम्मान गर्थे । स्वच्छन्दतावादी कवि पि.वि. शैलीले त कविलाई “अन्एक्नोलेज्ड लेजिस्लेचर अफ द वल्र्ड” अर्थात विश्वका अवैधानिक विधायक भनेका छन् । अमेरिकी कवि रोबर्ट फ्रष्ट कविता विशेष ज्ञान दिएर अन्त्य हुनुपर्ने तर्क राख्छन् ।

यी त भए केही पश्चिमेली विचारका  कवि र कविताका बारेमा विचारहरू । नेपालको सन्दर्भमा पनि यतिबेला घनिभुत छलफलको विषय छ्र ः कविता कस्तो हुनुपर्छ ? उत्तर दिने प्रयास पनि गरिँदैछ । नेपाली  कविता  हुनुपर्छ ‘नेपालीपन’ उजागर गर्ने किसिमका हुनुपर्छ नकि पश्चिमा विम्व र संकेतको अतिशय प्रयोगबाट प्रताडित । कवितामा नेपाल हुनुपर्छ । माटोको गन्ध हुनुपर्छ । पाखो—पखेरो बोल्नुपर्छ । नसुनिएकाहरू सुनिनुपर्छ , नवाचिएकाहरू वाचिनुपर्छ ।

यही उत्तरलाई मुर्तरुप दिन्छन् हेमन्त बिवसका कविताले । उनले आफ्नो पछिल्लो कविता सङ्ग्रह “सैपालको आँगन” (३४ कविता) मार्फत नेपालको सुदुरपश्चिम भेगमा प्रचलित विभिन्न धार्मिक साँस्कृतिक, ऐतिहासिक पहिचानलाई अभिव्यक्त गरेका छन् । उनका कवितामा सैपाल मुस्कुराइरहेछ , बछेडी खोला, र सेती खोला सुसाइरहेकाछन्, धुर्कोट र खप्तड गर्विलो इतिहास बोकेर उभिरहेछन् । उनले यथार्थ लुकाउँदैन् , कमलरी र देउकीका विडम्बनाहरू समेत खोतलेका छन् । उनका कविता नारामात्र वा कुण्ठाको अभिव्यक्ति मात्र होइनन् ।
विवसका कवितामा शब्दहरूले चित्र निर्माण गरेका छन् । वोधगम्य भाषामा समयवोध प्रतिविम्वित छ । उनका पात्र गरिव छन, तर स्वभिमानी छन्, भीख माग्दैनन् चाहे उनीहरू गरिवी, समस्या, अन्याय र एक्लोपनसँग साक्षात्कार गरिरहेका र पीडाका गीतहरू नै गाइरहेका किन नहुन् ।

वीसौ शताब्दीका महान कवि तथा समालोचक टि. एस. इलियटले “ट्र««ेडिसन एण्ड इण्डिभिजुअल ट्यालेन्ट” निबन्धमा पराम्परागत ज्ञानकै सापेक्षतामा मौलिकताको अभ्युदय हुने तर्क गर्दै लेखेजस्तै हेमन्त विवश परंम्परालाई विषेश स्थान दिन्छन् । इलियटका शब्दमा ‘परम्परा एक विशेष महत्वको विषय हो, जुन पैत्रिक संपत्तिजस्तो एक पुस्ताबाट अर्को पुस्तामा सर्दैन । सो प्राप्त गर्न विशेष परिश्रम आवश्यक छ ।’ विवसले त्यो परिश्रम गरेका छन् । उनका कवितामा पुर्खौदेखिका ऐतिहासिक तथा साँस्कृतिक सन्दर्भहरू, देउडा, धमारी, ठाडी, माघी, तेलेको लेक, वर्छयान, रिपुमल्लका पालाका माटाका भाँडाहरू, अर्जुन शाहीको शिला आदिलाई विम्वका रुपमा प्रयोग गरेका छन् । तर उनी परम्पराका अन्ध समर्थक होइनन् बरु विकृतिहरूको खुलेर विरोध गर्छन् । सुदुर पश्चिममा ब्याप्त अन्धविश्वासका कुरितीलाई हटाउनु पर्ने आवाज वुलन्द गर्छन् । झारफुक, धामी झाँक्री प्रथा, देउकी प्रथा, कमलरी प्रथाका विरुद्ध जोरले चिच्याउँछन् ।

उनका कविताको सबैभन्दा गर्विलो पक्ष त उनी “सत्ता–प्रायोजित इतिहास” का विपक्षमा छन् । उनी सिमान्तकृतको वैकल्पित इतिहास लेख्न चाहान्छन्, नलेखिएको इतिहास लेख्न चाहन्छन् । शक्तिको आडमा लेखिएको इतिहासलाई प्रश्न गर्न चाहन्छन् । यस अर्थमा दार्शनिक मिसेल फुकोले भनेजस्तो उनी नवऐतिहासिक आन्दोलनका हिमायती बन्न पुगेका छन् ।  सुदुरपश्चिमका आम जनताको इतिहास एक अलिखित इतिहास हो । हलीको इतिहास अलिखित इतिहास हो, कमलरी र देउकीको इतिहास अफिसियल इतिहासमा अट्न सकेको छैन । कवि विवश हलीलाई प्रमुख पात्र बनाएर लेख्छनः
हेर्न पनि हुन्न उसले साहुको घरको गोरस
रिसाउँछन् साहुका देवता ः बिग्रिन्छ भैंसी
किनकि
ऊ पानी नचल्ने जातको मान्छे
ऊ हली ।

“हली” नै शीर्षकको अर्को कवितामा अन्यत्र उनको पात्र हली भन्छः

हलो जोतेर सीता उब्जाउने
        सीताको मन्दिरमा कहिल्यै जान नपाउने
        म उही अभागी हली हँु मालिक ।
“सृृष्टिको पूर्ण आकार” भएर पनि सिमान्तकृत बनाइएका आमाहरू, “विद«ोहको आवाज” लिएर “समाजको ऐजेरुलाई” जरै देखि उखेल्न खोज्ने “भविष्यका आमाहरू,” कविका पीडाहरू, परिश्रमी बाबाका पौरखी हातका कथाहरू पनि अटाएका छन् उनका कवितामा । सुदुरपश्चिमका साँस्कृतिक, भाषिक, धार्मिक सम्पदाप्रति गर्व गर्छन् । मानवताका गीतहरू गाँउछन् उनका कविताका पात्रहरू चाहे जतिसुकै दुःखमा परेका किन नहुन् । दुःखको उपल्लो अवस्थामा पनि आत्मा वेच्दैनन्, विचलित हुँदैनन् । बरु देउडा धमारी र ठाडी गाउँदै पिडालाई शक्तिमा वदल्न उद्दत रहन्छन् ।

        सधैँ चर्चामा रहने शहरलाई उनले “क्रोधपुर्ण ध्वनी निकाल्ने” अहंकारको नरसिंहा बजाउने एक विकृत आकृतिको रुपमा चित्रण गरेका छन । प्रेमदिवस लाई धनी र सभ्य कहलिएका सहरियाको दिवसको रुपमा चित्रण गर्दै स्थानिय रितिरिवाज हाम्रा गहना भएको तर्फ आवाज उठाएका छन् । विशेष धार्मीक, साँष्कृतिक तथा ऐतिहासिक शब्दावलीको अर्थ सहित लेखिएका कविताहरू नेपाली माटो र विशेषतः सुदुरपश्चिमका परिचायक कविता हुन् । उनका धेरैजसो कविता सिमान्तकृत वनाइएकाहरूका कथा हुन् । कुनै कवितामा कविको आवाज सानो सुनिए पनि, सामान्यतः उनका कविता आवाजविहिनहरूका पक्षमा उठाइएका आवाज हुन्ः हलीका, परिश्रमी बाबाका, देउकीका, कमलरीका, आमाका, बझाङ्गका, कर्णालीका अनि सैपालको आँगनका । सीमामा उभिएको मानिसले केन्द्रलाई दिने एउटा विनित र अहंकाररहित चेतावनी उनको कविताको मूल स्वर हो, जसको उत्कृष्ट उदाहरणका रुपमा यी हरफहरूलाई लिन सकिन्छः

मलाई थाह छ
माथि, महलबाट
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको छ ।

भावना प्रधान विवशका कविताहरु दर्जनौं ‘उपमा’ले भरिपूर्ण छन । समाजको पूर्ण चित्रण सम्भ्रान्तको दृष्टिकोण समेतबाटमात्र पूरा हुन्छ भन्ने सत्यतालाई आत्मसात गर्न सकेका भए सुनमा सुगन्ध हुने थियो कि ? यपद्यी केन्द्रका बिरुद्वका सूदुरबाट गरिएको बिनित बिद्रोहको संग्रह अवस्य नै एक संग्रहणीय पुस्तक हो ।

कृति : सैपालको आँगन
विधाः  कविता
कृतिकार :  हेमन्त विवश
प्रकाशकः  स्कलर्स पब्लिकेशन एण्ड प्रिन्टिङ् प्रा.लि.
पृष्ठः ९३

ईराक युद्धको त्रासदी (Review)




दोस्रो विश्वयुद्धको समाप्तिपछि उपन्यास लेखनको क्रम उल्लेख्य रुपमा वृद्धि भयो । ति उपन्यासहरुले विगतमा नउठाएका विविध विषयवस्तुहरु तथा विचारहरुलाई साहित्यमा भिœयाए । लेखकद्वय रोनाल्ड कार्टर र जोन म्याक्टेका अनुसार मुख्यगरि युवा तथा तल्लो वर्गका, नवशिक्षित मध्यम वर्ग, महिला तथा जातिय अल्पसंख्यक, समलिंगी लगायतका समुहहरुका आवाजहरु त्यस समयका उपन्यासले स्थापित गरायो ।

बिसांै शताब्दीको सुरुवाती देखिनै विश्वले दर्जनौ युद्धहरुको सामना गर्नुपर्यो । बोअर वार, पहिलो विश्वयुद्ध , दोस्रो विश्वयुद्ध, भियतनाम युद्ध, खाडी युद्ध, जस्ता युद्धहरुले विश्वलाई तहसनहस वनायो र ति युद्धहरुले निम्त्याएकोे विभिषिका तत समयका साहित्यका प्रमुख विषयवस्तु वने । अझ महत्वपूर्ण त दोस्रो विश्वयुद्ध पछि वेलायतको सामरिक शक्ति ओझेलमा पर्दै गयो र यसको स्थान अमेरिकाले लियो । तत्पश्चात अमेरिकाले बिभिन्न बहानामा इराक, अफगानिस्तान, सिरिया जस्ता राष्ट्रहरुमाथि धावा बोल्यो र परिणामस्वरुप हजारांैको ज्यान गयो र अरवौंको सम्पत्ति नोक्सान भयो ।

यसै सन्दर्भमा वंगलादेशी लेखक साद जी होसेनले अमेरिकाले इराकमाथी गरेको आक्रमणको घटनालाई आधार वनाएर सन् २०१५ को अन्त्यमा “ईस्केप फ्रम बग्दाद !” अर्थात “बग्दाद बाट भाग्दा” शीर्षकमा एक उपन्यास लेखेका छन् । उपन्यासको शीर्षकले नै उपन्यासको सारांश बोक्छ अर्थात कोहि पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।

प्रायस : प्रागकल्पना, विज्ञान कथा तथा ब्ल्याक कमेडी लेख्ने कथाकार होसेनले यस उपन्यासमा  पनि ऐतिहासिक कालखण्डमा घटेको इराक युद्धलाई हाँस्यको शैलीमा प्रस्तुत गरेका छन् । साथसाथै यथार्थ घटनामा आधारित भए तापनि कल्पनाको कलेवरले वरिपरिबाट छोपेर एक सुन्दर सिर्जना  जन्माउने प्रयास गरेका छन् । यद्यपि लेखक युद्धको पक्षमा भने पटक्कै छैनन् बरु उनले युद्धलाई एक निकृष्ट र अमानविय तथा साँच्चै नै कुरुप घटनाको रुपमा चित्रित गरेका छन् । युद्धग्रस्त इराकमा वाँच्दाका विसंगतिहरुलाई हाँसोको शैलीमा व्यक्त गर्दै गर्दा उनी युद्धका परिणामहरुप्रति उत्तिकै तिखा वाणहरु फ्याँकिरहेका छन । विश्वभर मानिसहरु अन्याय, थिचोमिचोका साथसाथै हिंसाका घटनाहरुको सिकार हुन परेको प्रति लेखक अति नै चिन्तित छन् ।

चित्ताकर्षक बुक कभर भित्र ३६ वटा कथामा उनिएको उपन्यासको अन्त्यमा ‘एपिलग’ (उपसंहार) र नोट्सहरु पनि समाविष्ट छन् । कथामा प्रयोग भएका वा सन्दर्भका रुपमा चर्चा गरिएका तर सम्पूर्ण पाठकहरुका लागि बोधगम्य नहुन सक्ने शव्दावली तथा सन्दर्भहरुलाई नोट्समा दिएको जानकारीले सुबोध्य वनाएको छ ।
यस उपन्यासको कथानक नौलो छैन । बिसौं शताव्दीका एक महान प्रयोगात्मक आख्यानकार कुर्त भोनेगटको उपन्यास स्लटरहाउस फाईभसँग यो उपन्यास धेरै हदसम्म मिल्दोजुल्दो छ । सन् १९४४ डिसेम्वर १९ मा भोनेगट वास्तविक जिवनमानै जर्मन फौजदारा बन्दी वनाईएका थिए र जर्मनीको एक शहर ‘ड्रेसडेन’ पठाईएका थिए र सन् १९४५ को फेव्््रूअरी १३—१४मा अमेरिकी फौजले गरेको बमवारीमा ज्यान जोगाउन सफल भएका थिए । भोनेगटको माथि उल्लेखित उपन्यासको पात्र बिल्लि पिलग्रिम पनि अमेरिकी फौजको बमवारीबाट सोही शहर ड्रेसडेनमा ज्यान जोगाउन सफल भएको देखाईएको छ  ।

ठीक त्यसैगरि, यो उपन्यास ईस्केप फ्रम वग्दाद ! का दूई प्रमूख पात्रहरु दागर र किन्जाले ईराक युद्धको समयमा बग्दाद शहरमा दुःखले ज्यान जोगाउन सफल हुन्छन् । युद्धले सवै कुरा गुमाईसकेका उनीहरुको गुमाउन बाँकी अरु केही थिएन । जव अमेरिकी सेनाले ईराक र मूख्यगरि राजधानी शहर बग्दादमाथि आक्रमण गर्छन तव यी दुई पात्रहरुले ज्यान जोगाउनका लागि हरतरहले प्रयास गर्छन् जुन प्रयास भोनेगटको पात्र बिल्लिको संघर्षसँग ठ्याक्कै मिल्छ । भोनेगटले प्रयोग गरेको ह्यूमरको शैली पनि उपन्यासकारले दुरुस्तै उतारेका छन् । फरक यतिमात्र हो कि भोनेगटको कथाको सन्दर्भ दास्रो विश्वयुद्धको अन्त्यतिरको हो भने होसेनको कथाको सन्दर्भ  एक्काईसौ शताव्दीको शुरुका वर्षको इराक युद्धको । उस्तै प्रकृतिको आततायी घटनाक्रमलाई भोनेगटले प्रयोगात्मक शैलीमा व्यक्त गरेका छन् भने होसेनले परम्परागत शैलीमा ।

यो उपन्यासले नयाँ मोड लिन्छ जब दागर, किन्जा र उनीहरुले वन्दी वनाएको सद्धाम हुसेनको एक समर्थक समेतलाई “लायन अफ अक्कड” नाम दिईएको एक हत्यारालाई पत्ता लगाउने जिम्मेवारी दिईन्छ । उनीहरु यस लक्ष्यमा सफल हुन नसकेपनि एक अनौठो प्रकृतिको घडी भेटाउछन् जसको पछि केही शक्तिशाली व्यक्तिहरु पनि लागेका हुन्छन । यी पात्रहरुलाई मोसुल नामक स्थानमा पुग्ने लगायतका विभिन्न चरणमा एक भ्रष्ट अमेरिकी शैन्य प्राईभेट हफम्यानले सहयोग गरिरहेको हुन्छ ।

मध्य बिसांै शताब्दीमा समालोचकहरुले भन्ने गरेको “उपन्यासको मृत्यू” यस उपन्यासको सन्दर्भमा उति लागू हुदैन । समालोचकहरुले सो समयमा वास्तममा उपन्यासको मृत्यू घोषणा नगरि परम्परागत ढर्रामा लेखिने उपन्यासका दिन गएको घोषणा गरेका थिए । अर्थात शुरुवात, मध्य र अन्त्य खोज्ने एरिस्टोटलियन धारका कथाको समय सकिएको घोषणा गरेका थिए ।

वास्तममा नै दोस्रो विश्वयुद्ध पश्चात साहित्य लेखनमा विभिन्न प्रयोगहरु भए । कुर्त भोनेगट, मार्टिन अमिस, जोन अपडाईक, टाकेहिको इनोही , स्टेफन किङ्गहरुले उपन्यासका विभिन्न पक्षहरुमा प्रयोगहरु गरेका छन् । माथि उल्लेखित भोनेगटको उपन्यासमा पनि मूख्यगरि “समय”लाई प्रयोग गरिएको भएतापनि एक्काईसौ शताब्दीको शुरुमा लेखिएको होसेनको यो उपन्यासमा भने कथा पुरानै शैलीका लेखिएको छ । यद्यपी यस उपन्यासले प्रागकल्पना, इतिहास, विसंगति, र हाँसोलाई एकै ठाउँमा ल्याएर विधागत दिवारलाई भने भत्काएको छ । उनले युद्धको दृश्यात्मक नारकिय चित्रण पस्केको छन् तर पाठकहरु यी घटनाहरु पढ्दा नहाँसीकन रहन सक्दैनन् । होसेनले युद्धको विभिषिकाको साथसाथै मदर डाभाला र गेवरका सन्दर्भहरु प्रयोग गरेर इस्लामका सुनौला युगसँग सम्वन्धित  बिभिन्न पक्षहरुलाइ पनि उजागर गर्न भ्याएका छन् ।
पछिल्ला दुई दशकका इराकसँग सम्वन्धित विभिन्न घटनाक्रमका बारेमा ज्ञान दिने यो पुस्तक भाषागत रुपमा भने  सवै पाठकका लागि पँहुचयोग्य छैन । तथापि युद्धको नियतिको विरुद्धमा लेखिएको यो एक दृश्यात्मक उपन्यास हो ।

पुस्तक : स्केप फ्रम बग्दाद !
लेखक : साद जी होसेन
विधा : उपन्यास
प्रकाशक : एलेफ
मूल्य : भा.रु. ३९९


अल्बानियालीको आख्यान (Review)




समय दोस्रो बिश्वयुद्धको । इटालीका तत्कालिक शासक बेनिटो मुसोलिनिको आदेशमा सन् १९३९ अप्रिल ७ मा जनरल अलफ्रेडो गुजोनीको नेतृवको फौजले अल्बानियाका तत्कालिन राजा जोग (जोगु) माथि विजय प्राप्त ग¥यो । उनको यो आक्रमण रणनैतिक थियो । उनी अल्बानियाबाट ग्रीस हुँदै अन्य छिमेकी मुलुक माथी आधिपत्य कायम गर्न चाहान्थे । तर उनी यस लक्ष्यमा भने सफल हुन सकेनन् । बरु एडोल्फ हिटलरका नाजी सैन्यले युगोस्लाभिया, ग्रीस जस्ता छिमेकी मुलुकहरुका साथसाथै अन्ततः इटाली नियन्त्रित अल्बानिया पनि आफ्नो अधिनमा लियो ।

यहि समय अर्थात् सन् १९४३ मा अल्बानियामाथि जर्मनी ले आधिपत्य कायम गर्ने क्रमका र त्यस पछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, ईस्माइल कादरीले उनको उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ‘ढुङ्गे शहरको अवसान’मा ।

अल्बानिया इतिहासका विभिन्न कालखण्डमा तानाशाहबाट शासित मुलुक हो । अटोम्यान शासनका समयमा क्रिष्टियन धर्म मान्ने अल्बानियालीहरु इटाली, ग्रीस, इजिप्ट लगायतका मुलुकमा शरण लिन गएका थिए । नभागेका वा अल्बानियामा नै रहेकाहरु भने धर्म परिवर्तन गरेर मुस्लिम बने । भनिन्छ, अठारौं शताब्दी सम्ममा दुई तिहाई अल्बानियालीहरुले धर्म परिवर्तन गरेका थिए । ठूलो संख्यामा मुस्लिम जनसंख्या बनाउन सफल भएकै कारण सन् १९१३ सम्म अटोम्यान शासन टिकेको थियो ।

प्रथम विश्वयुद्धताका अल्बानियामा कुनै निश्चित सरकार नभएकोमा जोग ले शासन सुरु गरे । यो देश दोस्रो विश्वयुद्धताका सन् १९३९ देखि १९४३ सम्म इटाली र त्यसपछि जर्मन नाजीहरुको नियन्त्रणमा रह्यो । दोस्रो विश्वयुद्धपछि स्टालीन समर्थक कम्युनिष्ट नेता इन्भर होक्साले अल्बानियामा कम्युनिष्ट शासनको सुत्रपात गरे ।

यिनै ऐेतिहासिक घटनाहरु कादरीका उपन्यासका प्रमुख विषयवस्तु हुन् । विशेष गरी उपन्यासले हिटलरका नाजी सैन्य अल्बानियामा आएपश्चात् देखि कम्युनिष्ट शासनसम्मको घटनाक्रमलाइ समेट्छ । जर्मनी सैन्य स्वघोषित “स्वतन्त्रताका पुजारी”को भेषमा अल्बानिया छिरेपश्चातको पहिलो स्टेशन हो −जिरोकाष्टर अर्थात् प्राचिन ‘स्टोन सिटी’ । यहि शहर र यसको वरिपरी बिकसित घटना र मुख्यतः यस शहरले देख्नु भोग्नु परेका सन्दर्भहरुको सेरोफेरोमा कथा घुमेको छ । सोहि सहरमा एउटै नामधारी दुईजना डाक्टरहरु बस्थे, जसलाई छुट्याउन ‘बिग डाक्टर गुरामेटो’ र ‘लिटिल डाक्टर गुरामेटो’ भन्ने गरिन्थ्यो जसमध्ये भूमिकाको आधारमा पहिलो डाक्टर प्रमुख पात्र हुन ।

हुनत नाजी फौजको अघि अल्बानियालीले आत्मसमर्पण गर्नु सिवाय अर्को विकल्प थिएन यद्यपी केहिले प्रतिकार स्वरुप जर्मनका मोटरसाइकलमाथि आक्रमण गरेपछिको परिणाम स्वरुप सयौं अल्बानियालीलाई नाजी सैन्यले बन्दी बनाइसकेका थिए । तर कथाले एक फरक मोड लिन्छ जब बिग डाक्टर गुरामेटोले नाजी फौजका कमान्डर फ्रिज भोन स्वाबेलाई एक विशिष्ट आतिथ्यताका साथ आफ्नै घरमा रात्रीभोज आयोजना गरेर स्वागत गर्छन्, सन् १९४३ सेप्टेम्बर १६ तारिखका दिन । युद्घले थकित र बुढा देखिने सैन्य कमाण्डर र डा. गुरामेटो बिश्वविद्यालय पढ्दाका दोस्तीहरु थिए । तर यहि विषयलाई लिएर अल्बानियाली जनताहरु दुई खेमामा बाडिन्छन्— डाक्टर देशद्रोही या राष्ट्रसेवक ?

कमान्डरसँगको चिनजानी र डाक्टरको प्रयासको परिणामस्वरुप नाजी फौजले बन्दी बनाइएकाहरु  छुट्छन् जसमा सामान्य अल्बानियालीका साथै एक प्रसिद्ध औषधि व्यापारी यहुदी पनि थिए । डाक्टरका प्रसंशकले उनलाई एक कुशल कुटनीतिज्ञ भनेर उनको सफलताका प्रशंसा गरे भने विपक्षीहरुले जर्मनीमा पढेको स्त्रीरोग विशेषज्ञ डाक्टरले शत्रुलाई आतिथ्यता ग¥यो भनेर उनको खोइरो खने ।

डाक्टरलाई त्यतिबेला समस्या पर्छ जब दोस्रो विश्वयुद्धको समाप्ति पछि अल्बानियामा कम्युनिष्टहरुको शासन शुरु हुन्छ । उनीहरुले डाक्टरलाई नाजीहरुसँग सहकार्य गरेकोमा आलोचना मात्र गरेनन् उनी र उनीसँग नाम मिलेकै कारण दुबै डाक्टर यातनाको भागिदार बन्छन् । मुख्यतः यहुदीलाई छुटाएको विषयलाई लिएर डाक्टरलाई बढी नै केरकार गर्छन । जर्मनका शत्रु मानिने यहुदीलाई समेत छुटाएको यो घटनालाई एक संकास्पद देशद्रोही घटनाको रुपमा हेरिन्छ । यस घटनाका अनुसन्धानकर्ताले दबाब दिँदै सोध्छन, “तपाइँले भनेका सब कुरा साँचो हुन । तर यी सब कुराहरु हामीलाइ थाहा छन । हामीलाइ बाँकी कुरा भन्नुस, जुन हामीलाइ थाहा छैन । त्यो रहस्य ।” कथाको पछिल्लो भागमा त्यहाँ आएका सैन्य कमान्डर भोन स्वाबे साँच्ची नै डाक्टर गुरामेटोका पुराना मित्र थिए वा अरु कोहि ? भन्ने रहस्यले विशेष स्थान पाउँछ ।

भनिन्छ इतिहास आफैमा पनि सत प्रतिशत सत्य हुँदैन । इतिहासमा पनि केही न केही बढाइ—चढाइ हुन्छ भने इतिहास लेखन प्रायशः शक्तिबाट सञ्चालिन हुन्छ र सोही अनुसार लेखिन्छ र लेखाइन्छ । अर्कातर्फ साहित्य जहिले पनि कपोकल्पित मात्र हुँदैन बरु सामाजिक, राजनीतिक, साँस्कृतिक, घटना तथा परिघटनाबाट प्रभावित हुन्छ । यो उपन्यासमा बर्णित घटना पनि तत्कालिन समयका उपज हुन । जर्मनी, इटाली, अल्बानिया, रुस जस्ता यूरोपेली देशहरुको मध्य बिसौं शताब्दीको तत्कालिन संबन्धलाइ यो उपन्यासले प्रतिनिधित्व गर्छ । जर्मनी—ईटाली समूहको हार पछि बिजेता बनेका रुस लगायतका मुलुकले हारेका मुलुकहरु माथी गरेको ब्यबहारको चित्रणको एक प्रतिनिधि पात्र डाक्टर गुरामेटो आफैं हुन ।

यस उपन्यासमा पनि सत प्रतिशत सत्यताको दाबी गर्न नसकिए पनि तानाशाह र कम्युनिजमको चेपुवामा परेको डाक्टर गुरामेटो तत्कालिन यूरोपेली राजनैतिक अवस्थाको प्रतिनिधी पात्र भने अवश्य नै हुन । पुरातन शैलीमा समयको क्रमबद्घताका साथ (१९४३, १९४४, १९५३) लेखिएको यो उपन्यास ब्यङ्गबाण, उत्सुकता र यर्थाथता मिश्रित अल्बानियाको मध्य बिसौं शताब्दीको ‘फिक्सनलाइज्ड हिस्ट्री’ आख्यानात्मक इतिहास हो ।

लेखक : ईस्माइल कादरी
पुस्तक :  द फल अफ द स्टोन सिटी
अंग्रेजीमा अनुबाद  : जोन हड्सन
प्रकाशक : क्यानोनगेट
पृष्ठ संख्या : १६८