Tuesday, April 26, 2016

भाषामा अन्याय



उपन्यास कमै लेखिने बिधा भएर पनि साहित्यमा यसको विशेष स्थान यस अर्थमा छ कि यसका पाठक अन्य बिधाका भन्दा बढी छन । बिश्व साहित्यको इतिहास हेर्ने हो भने पनि यो देखिन्छ कि एक मात्र उपन्यास राम्ररी चलेर पनि नाम र दाम दुबै कमाएका साहित्यकारहरु प्रशस्तै छन । हार्पर ली, एन्ना सेवेल, एड्गार एलन पो, ईमाइल ब्रोन्ट, बोरीस पास्तरनाक, राल्फ एलिसन यस समूहका केहि प्रतिनिधी उदाहरणहरु हुन ।

नेपालको सन्दर्भमा हेर्दा नेपाली लेखकले अंग्रेजी र नेपाली दुबै भाषामा उपन्यास लेख्ने गरेका भएता पनि अंग्रेजी भाषालाई माध्यम बनाएर अभिब्यक्त गर्ने क्षेत्रमा भने उती धेरै काम भएको छैन भनेर भन्यो भने गलत चाहिँ हुँदैन । यसै दुर्लभ परिदृष्यको एक उदाहरण हो शिवानी न्यौपानेको दोश्रो उपन्यास क्रसिङ्ग स्याडोज । यसअघि उनको पहिलो कृति मोनिका प्रकाशित भइसकेको छ ।

भर्खरै बजारमा आएको यो उपन्यास बिषयगत, बिधागत र भाषागत आधारमा ब्याख्या बिश्लेषण गर्न सकिन्छ । उन्नाईस अध्यायमा बाँडिएको यो कृतिले माया— प्रेम, घृणा, द्वेष, घुसखोरी, भ्रष्टाचार जस्ता बिश्वव्यापी तथा जल्दाबल्दा बिषयबस्तुलाइ प्रमुखताका साथ उठाएको छ । जीवन र माया, बिश्वास र मायाका बीचको प्रेमकहानी, ककनी, मसेल, तान्द्राङ र काठमाडौंमा सन् २००७, २००८, २०१० र २०११ मा घटेका चार घटनाहरुको अनुसन्धान र यसमा संलग्न प्रहरी अधिकृत एस. एस. पी. हरिहर सिंह र एस. पी. रतन यादबहरुले अनुसन्धानका सिलसिलामा गर्नु परेका  बिभिन्न क्रियाकलापहरु यस उपन्यासले समेटेका प्रमुख घटनाहरु हुन ।
उपन्यासकी प्रमुख पात्र मायालाई एक सबल नारी पात्रको रुपमा चित्रण गरिएको छ । साथै उनको प्रतिबद्घता पनि प्रसंसनीय छ । कथानक आफैंमा दिक्दारलाग्दो छैन । अब के हुन्छ भनेर कथामा अनुमान गर्न सकिने औषत नेपाली उपन्यास÷कथा भन्दा यो उपन्यास पृथक छ । पाठकले गरेको अनुमान प्रायसः गलत साबित हुन्छन । जिन्दगीका मोडहरुमा बिभिन्न हण्डर र ठक्कर खाएकि, कथाको कुनै अंशमा आत्महत्या गर्न तयार प्रमुख पात्र माया एकाएक काठमाडौं बिश्वविद्यालयमा छात्रवृत्ति पाएर एमबिबिस पढ्न थाल्छिन, पछि फेरि अचानक भारत जाने निधो गर्छिन, जुन पाठकले गर्ने अनुमान भन्दा फरक लाग्छन ।

उपन्यासमा प्रयुक्त सम्पादकिय र समाचारका दृष्टान्तहरुले घटनाहरु एक अर्कालाइ जोड्न सहयोग गरेको देखिन्छ । यस्तो ‘प्रयोग’ को कारण लेखकको पृष्ठभूमीको उपज हुन सक्छ । हत्याको खोज तथा अनुसन्धान जासूसी प्रकृतिको छ जसले जासूसी उपन्यासले ख्याती कमाएको  १९औं शताब्दीको पश्चिमा साहित्यिक प्रवृतिलाइ सम्झाउँछ । यद्यपि खोज तथा अनुसन्धानलाई राजनीतिले कसरी प्रभाव पार्छ भन्ने कुरा पनि देखाउन खोजिएको छ । अनुसन्धानमा संलग्न सिनियर र जुनियर अधिकृत बीचको अहम्को द्वन्द्व (इगो कन्फ्लिक्ट) पनि चित्रित छ । एस. पि. रतनलाई राम्रो चित्रण गर्न खोज्दा खोज्दै पनि कतिपय ठाउँमा घुस लिएको देखाइएको छ । त्यस्तै जनयुद्वको  धङ्गधङ्गीलाई लेखकले उपन्यासमा ल्याएपनि सूर्यले मायासगँ गर्ने क्रान्तिकारी कुरा बाहेक अन्त उल्लेख भएको पाइँदैन । जुनसुकै कारणले जीबनलाई बिभिन्न हत्या गर्न उक्साए पनि उसको चरित्रले नेपाली राजनीतिका हस्तिहरुको अपराधिक पृष्ठभूमिलाई संकेत गर्दछ ।

कथानक राम्रो हुँदाहुँदै पनि रुपगत र भाषागत संतुष्टि लिने ठाउँ भने कतै पनि छैन । लेखक पत्रकारिता पृष्ठभूमीकै भएपनि बाक्यसंरचना, शब्द चयन र हिज्जेमा यसको प्रभाव ज्यादै कमजोर छ । भद्दा लाग्ने बाक्य र बाक्यांशले बिषयबस्तुको गहनतालाइ छाँयामा पारिदिन्छ । धेरै पात्र, बहु कथानक र प्रत्येक पात्रको यस्तो र उस्तो बिशेषता भनेर गरिएको अनावश्यक पात्र चित्रणले कथाको स्वादलाइ नराम्ररी प्रभाव पार्नुका साथै पाठकको मूल्याङ्कन गर्ने अधिकार समेत हनन गरेको छ । भिक्टोरियन समयमा लेखिएका लम्बेतान, बहुकथानक, पात्रहरुको भीड भएका उपन्यासलाई आधुनिक समालोचकहरुले ब्याख्या गर्दा प्रयोग गर्ने अभिब्यक्ति “लुज एण्ड ब्याग्गी मोन्स्टर” यस उपन्यासका सन्दर्भमा प्रयोग गर्दा पनि अनुचित हुँदैन ।

उपन्यास शुरु हुनु भन्दा अगाडिको “कृतज्ञता” खण्ड पढ्दा आशा गरेको कुरा उपन्यास पढ्दा पटक्कै पाईदैन । यस खण्डमा लेखिकाले ‘सम्पादन’को भूमिका मात्र उल्लेख गरेकि छैनन कि यो उपन्यासको सम्पादनमा संलग्न केहि मूर्धन्य सम्पादकको खुलेरै प्रशंसा गरेकि छन । तर वास्तबमा यो उपन्यासको सम्पादन, पश्चिमा विश्वबिद्यालय गएर सम्पादन पढेकी लेखिका र सम्पादन गर्ने सम्पादकले सम्पादन गरेजस्तो लाग्दैन । यो समस्या हिज्जे, ब्याकरणका साथसाथै कर्ता—क्रिया संबन्ध र शब्द चयनमा पनि देखिन्छ । पृष्ठ नं ३ को स्टिभ जोब्सको नाम,  पृष्ठ २७ मा “अन्प्लिजेन्ट” अगाडी प्रयोग गरिएको आर्टिकल, पृष्ठ २८ मा “इन्सेक्ट” अगाडी प्रयोग गरिएको आर्टिकल, पृष्ठ ३२१ मा बहूबचन “विमिन” अगाडी प्रयोग गरिएको आर्टिकल र सोहि पृष्ठमा तृतीय पुरुष एकवचन “सी” सँग प्रयोग गरिएको क्रियापद “ड्रप” यस्ता केहि उदाहरणहरु हुन । त्यसैगरि पृष्ठ १०मा प्रयुक्त पोरिङले फरक अर्थ दिइराखेको छ, पृष्ठ २३० को अन्तिम अनुच्छेदमा ‘अल’ सँग प्रयोग गरिएको “एभिडेन्स”, पृष्ठ ३०० मा लेखिएको “हि टास्क”(सायद हिज टास्क), पृष्ठ ३०१ मा लेखिएको “अ इजि टार्गेट रियल्ली” धेरै मध्ये केहि उदाहरण हुन । पृष्ठ १८ को प्रथम अनुच्छेदमा लेखिएको “आइ ह्याभ एन इक्जाम टु गिभ” ले त झन “कृतज्ञता” लाई गिज्याइरहेको आभाष हुन्छ ।

यसका साथसाथै लेखिकाको जर्वजस्त रोमनमा लेख्ने कुरा पनि सान्दर्भिक लाग्दैन । केहि त्यस्ता शब्दहरु जसले नेपालीपना बोकेको हुन्छ, त्यस्ता शब्दहरुको अनुबादले स्वाद बिग्रने डरले रोमनमा लेख्नुलाई राम्रो मानिन्छ । उपन्यासमा केहि शब्दहरु ‘दाइ’, ‘दिदी’, ‘छोरा’, ‘छोरी’ को रोमन प्रयोगलाइ स्विकार्न सकिए पनि “हे भगवान, हे भगवान, हे भगवान”(पृष्ठ २५), “छोरा के भयो त्यस्तो ? ” (पृष्ठ १०६) लाई रोमनमा लेख्दा आउने साहित्यिक खल्लोपना चियालाइ “टि” नलेखेर “चिया” नै लेखेर आउने स्वादले पनि विस्थापन गर्न सक्दैन बरु झन तिक्तता थप्छ ।

अहिले बहसको बिषय छ— नेपाली साहित्यलाई कसरी अन्तराष्ट्रियकरण गर्ने ? हामीसँग दुईवटा विकल्पहरु छन् । या त अंग्रेजीमा लेख्नुपर्यो, कि नेपालीमा लेखिएकालाई अंग्रेजीमा अनुवाद गर्नुपर्यो । पहिलो विकल्प  सबैले गर्न सक्दैनन न त दोस्रो विकल्प नै सहज छ । यद्यपि दुबै विकल्पमा गर्न सकिने प्रशस्तै संभावनाहरु भने छँदै छन । जसले अंग्रेजीमा कलम चलाउँछन्, उनीहरुले त्यसलाई न्याय गर्न सक्नुपर्यो ताकि पाठकले भाषागत तथा विषयगत खिन्नताको भारी बोक्नु नपरोस । त्यसैगरि अनुवाद गर्नेले पनि अनुवादकीय न्याय गर्न सक्नुपर्यो । यो उपन्यास अन्तराष्ट्रिय भाषामा नै लेखिएको भएता पनि अन्तराष्ट्रिय त के यो समीक्षक जस्ता भाषाका राष्ट्रिय बिद्यार्थीहरुले पनि भाषिक न्यायको खडेरी महसुस गरेको कुरा छर्लङ्गै छ ।

उपन्यासका कथाहरु रोचक र ध्यान तान्ने हुँदाहुँदै पनि सम्पादनजन्य र भाषागत कमजोरीले उपन्यासको ओजलाइ घटाएको मात्र छैन कि एउटा रफ्तारमा उपन्यास पढेर आनन्द लिँदै भाव खोतल्नु पर्ने बेलामा खिन्नता बेहोर्नु पर्ने बाध्यता छ—भाषाले सारलाई न्याय गर्न नसक्दा । पाचँतारे होटलमा  फरक किसिमले तामझामका साथ बिमोचित भएको उपन्यासले आम पाठकको आकांक्षालाई भाषागत न्याय गर्न सकेको छैन । अतः भद्दा बाक्य र बाक्यांश, अमिल्दा शब्द चयन, नमिलेका हिज्जे, अनावश्यक रोमन र ‘प्रयोग’ आदिले रसियन समालोचक मिखायल एम. बाक्थिनको रङ्गमञ्चको नायक अर्थात उपन्यास कुरुप भएको महसुस हुन्छ ।
कृति : क्रसिङ्ग स्याडोज
लेखक : शिवानी न्यौपाने
प्रकाशक : वी रिड
विधा : उपन्यास
पृष्ठ : ३२४
मूल्य : रु ३५०

No comments:

Post a Comment