Sunday, March 20, 2016

ईराक युद्धको त्रासदी (Review)




दोस्रो विश्वयुद्धको समाप्तिपछि उपन्यास लेखनको क्रम उल्लेख्य रुपमा वृद्धि भयो । ति उपन्यासहरुले विगतमा नउठाएका विविध विषयवस्तुहरु तथा विचारहरुलाई साहित्यमा भिœयाए । लेखकद्वय रोनाल्ड कार्टर र जोन म्याक्टेका अनुसार मुख्यगरि युवा तथा तल्लो वर्गका, नवशिक्षित मध्यम वर्ग, महिला तथा जातिय अल्पसंख्यक, समलिंगी लगायतका समुहहरुका आवाजहरु त्यस समयका उपन्यासले स्थापित गरायो ।

बिसांै शताब्दीको सुरुवाती देखिनै विश्वले दर्जनौ युद्धहरुको सामना गर्नुपर्यो । बोअर वार, पहिलो विश्वयुद्ध , दोस्रो विश्वयुद्ध, भियतनाम युद्ध, खाडी युद्ध, जस्ता युद्धहरुले विश्वलाई तहसनहस वनायो र ति युद्धहरुले निम्त्याएकोे विभिषिका तत समयका साहित्यका प्रमुख विषयवस्तु वने । अझ महत्वपूर्ण त दोस्रो विश्वयुद्ध पछि वेलायतको सामरिक शक्ति ओझेलमा पर्दै गयो र यसको स्थान अमेरिकाले लियो । तत्पश्चात अमेरिकाले बिभिन्न बहानामा इराक, अफगानिस्तान, सिरिया जस्ता राष्ट्रहरुमाथि धावा बोल्यो र परिणामस्वरुप हजारांैको ज्यान गयो र अरवौंको सम्पत्ति नोक्सान भयो ।

यसै सन्दर्भमा वंगलादेशी लेखक साद जी होसेनले अमेरिकाले इराकमाथी गरेको आक्रमणको घटनालाई आधार वनाएर सन् २०१५ को अन्त्यमा “ईस्केप फ्रम बग्दाद !” अर्थात “बग्दाद बाट भाग्दा” शीर्षकमा एक उपन्यास लेखेका छन् । उपन्यासको शीर्षकले नै उपन्यासको सारांश बोक्छ अर्थात कोहि पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।

प्रायस : प्रागकल्पना, विज्ञान कथा तथा ब्ल्याक कमेडी लेख्ने कथाकार होसेनले यस उपन्यासमा  पनि ऐतिहासिक कालखण्डमा घटेको इराक युद्धलाई हाँस्यको शैलीमा प्रस्तुत गरेका छन् । साथसाथै यथार्थ घटनामा आधारित भए तापनि कल्पनाको कलेवरले वरिपरिबाट छोपेर एक सुन्दर सिर्जना  जन्माउने प्रयास गरेका छन् । यद्यपि लेखक युद्धको पक्षमा भने पटक्कै छैनन् बरु उनले युद्धलाई एक निकृष्ट र अमानविय तथा साँच्चै नै कुरुप घटनाको रुपमा चित्रित गरेका छन् । युद्धग्रस्त इराकमा वाँच्दाका विसंगतिहरुलाई हाँसोको शैलीमा व्यक्त गर्दै गर्दा उनी युद्धका परिणामहरुप्रति उत्तिकै तिखा वाणहरु फ्याँकिरहेका छन । विश्वभर मानिसहरु अन्याय, थिचोमिचोका साथसाथै हिंसाका घटनाहरुको सिकार हुन परेको प्रति लेखक अति नै चिन्तित छन् ।

चित्ताकर्षक बुक कभर भित्र ३६ वटा कथामा उनिएको उपन्यासको अन्त्यमा ‘एपिलग’ (उपसंहार) र नोट्सहरु पनि समाविष्ट छन् । कथामा प्रयोग भएका वा सन्दर्भका रुपमा चर्चा गरिएका तर सम्पूर्ण पाठकहरुका लागि बोधगम्य नहुन सक्ने शव्दावली तथा सन्दर्भहरुलाई नोट्समा दिएको जानकारीले सुबोध्य वनाएको छ ।
यस उपन्यासको कथानक नौलो छैन । बिसौं शताव्दीका एक महान प्रयोगात्मक आख्यानकार कुर्त भोनेगटको उपन्यास स्लटरहाउस फाईभसँग यो उपन्यास धेरै हदसम्म मिल्दोजुल्दो छ । सन् १९४४ डिसेम्वर १९ मा भोनेगट वास्तविक जिवनमानै जर्मन फौजदारा बन्दी वनाईएका थिए र जर्मनीको एक शहर ‘ड्रेसडेन’ पठाईएका थिए र सन् १९४५ को फेव्््रूअरी १३—१४मा अमेरिकी फौजले गरेको बमवारीमा ज्यान जोगाउन सफल भएका थिए । भोनेगटको माथि उल्लेखित उपन्यासको पात्र बिल्लि पिलग्रिम पनि अमेरिकी फौजको बमवारीबाट सोही शहर ड्रेसडेनमा ज्यान जोगाउन सफल भएको देखाईएको छ  ।

ठीक त्यसैगरि, यो उपन्यास ईस्केप फ्रम वग्दाद ! का दूई प्रमूख पात्रहरु दागर र किन्जाले ईराक युद्धको समयमा बग्दाद शहरमा दुःखले ज्यान जोगाउन सफल हुन्छन् । युद्धले सवै कुरा गुमाईसकेका उनीहरुको गुमाउन बाँकी अरु केही थिएन । जव अमेरिकी सेनाले ईराक र मूख्यगरि राजधानी शहर बग्दादमाथि आक्रमण गर्छन तव यी दुई पात्रहरुले ज्यान जोगाउनका लागि हरतरहले प्रयास गर्छन् जुन प्रयास भोनेगटको पात्र बिल्लिको संघर्षसँग ठ्याक्कै मिल्छ । भोनेगटले प्रयोग गरेको ह्यूमरको शैली पनि उपन्यासकारले दुरुस्तै उतारेका छन् । फरक यतिमात्र हो कि भोनेगटको कथाको सन्दर्भ दास्रो विश्वयुद्धको अन्त्यतिरको हो भने होसेनको कथाको सन्दर्भ  एक्काईसौ शताव्दीको शुरुका वर्षको इराक युद्धको । उस्तै प्रकृतिको आततायी घटनाक्रमलाई भोनेगटले प्रयोगात्मक शैलीमा व्यक्त गरेका छन् भने होसेनले परम्परागत शैलीमा ।

यो उपन्यासले नयाँ मोड लिन्छ जब दागर, किन्जा र उनीहरुले वन्दी वनाएको सद्धाम हुसेनको एक समर्थक समेतलाई “लायन अफ अक्कड” नाम दिईएको एक हत्यारालाई पत्ता लगाउने जिम्मेवारी दिईन्छ । उनीहरु यस लक्ष्यमा सफल हुन नसकेपनि एक अनौठो प्रकृतिको घडी भेटाउछन् जसको पछि केही शक्तिशाली व्यक्तिहरु पनि लागेका हुन्छन । यी पात्रहरुलाई मोसुल नामक स्थानमा पुग्ने लगायतका विभिन्न चरणमा एक भ्रष्ट अमेरिकी शैन्य प्राईभेट हफम्यानले सहयोग गरिरहेको हुन्छ ।

मध्य बिसांै शताब्दीमा समालोचकहरुले भन्ने गरेको “उपन्यासको मृत्यू” यस उपन्यासको सन्दर्भमा उति लागू हुदैन । समालोचकहरुले सो समयमा वास्तममा उपन्यासको मृत्यू घोषणा नगरि परम्परागत ढर्रामा लेखिने उपन्यासका दिन गएको घोषणा गरेका थिए । अर्थात शुरुवात, मध्य र अन्त्य खोज्ने एरिस्टोटलियन धारका कथाको समय सकिएको घोषणा गरेका थिए ।

वास्तममा नै दोस्रो विश्वयुद्ध पश्चात साहित्य लेखनमा विभिन्न प्रयोगहरु भए । कुर्त भोनेगट, मार्टिन अमिस, जोन अपडाईक, टाकेहिको इनोही , स्टेफन किङ्गहरुले उपन्यासका विभिन्न पक्षहरुमा प्रयोगहरु गरेका छन् । माथि उल्लेखित भोनेगटको उपन्यासमा पनि मूख्यगरि “समय”लाई प्रयोग गरिएको भएतापनि एक्काईसौ शताब्दीको शुरुमा लेखिएको होसेनको यो उपन्यासमा भने कथा पुरानै शैलीका लेखिएको छ । यद्यपी यस उपन्यासले प्रागकल्पना, इतिहास, विसंगति, र हाँसोलाई एकै ठाउँमा ल्याएर विधागत दिवारलाई भने भत्काएको छ । उनले युद्धको दृश्यात्मक नारकिय चित्रण पस्केको छन् तर पाठकहरु यी घटनाहरु पढ्दा नहाँसीकन रहन सक्दैनन् । होसेनले युद्धको विभिषिकाको साथसाथै मदर डाभाला र गेवरका सन्दर्भहरु प्रयोग गरेर इस्लामका सुनौला युगसँग सम्वन्धित  बिभिन्न पक्षहरुलाइ पनि उजागर गर्न भ्याएका छन् ।
पछिल्ला दुई दशकका इराकसँग सम्वन्धित विभिन्न घटनाक्रमका बारेमा ज्ञान दिने यो पुस्तक भाषागत रुपमा भने  सवै पाठकका लागि पँहुचयोग्य छैन । तथापि युद्धको नियतिको विरुद्धमा लेखिएको यो एक दृश्यात्मक उपन्यास हो ।

पुस्तक : स्केप फ्रम बग्दाद !
लेखक : साद जी होसेन
विधा : उपन्यास
प्रकाशक : एलेफ
मूल्य : भा.रु. ३९९


No comments:

Post a Comment