Sunday, March 20, 2016

अल्बानियालीको आख्यान (Review)




समय दोस्रो बिश्वयुद्धको । इटालीका तत्कालिक शासक बेनिटो मुसोलिनिको आदेशमा सन् १९३९ अप्रिल ७ मा जनरल अलफ्रेडो गुजोनीको नेतृवको फौजले अल्बानियाका तत्कालिन राजा जोग (जोगु) माथि विजय प्राप्त ग¥यो । उनको यो आक्रमण रणनैतिक थियो । उनी अल्बानियाबाट ग्रीस हुँदै अन्य छिमेकी मुलुक माथी आधिपत्य कायम गर्न चाहान्थे । तर उनी यस लक्ष्यमा भने सफल हुन सकेनन् । बरु एडोल्फ हिटलरका नाजी सैन्यले युगोस्लाभिया, ग्रीस जस्ता छिमेकी मुलुकहरुका साथसाथै अन्ततः इटाली नियन्त्रित अल्बानिया पनि आफ्नो अधिनमा लियो ।

यहि समय अर्थात् सन् १९४३ मा अल्बानियामाथि जर्मनी ले आधिपत्य कायम गर्ने क्रमका र त्यस पछिका घटनाचक्रलाई उपन्यासको प्रमुख विषयवस्तु बनाएका छन्, ईस्माइल कादरीले उनको उपन्यास द फल अफ द स्टोन सिटी अर्थात् ‘ढुङ्गे शहरको अवसान’मा ।

अल्बानिया इतिहासका विभिन्न कालखण्डमा तानाशाहबाट शासित मुलुक हो । अटोम्यान शासनका समयमा क्रिष्टियन धर्म मान्ने अल्बानियालीहरु इटाली, ग्रीस, इजिप्ट लगायतका मुलुकमा शरण लिन गएका थिए । नभागेका वा अल्बानियामा नै रहेकाहरु भने धर्म परिवर्तन गरेर मुस्लिम बने । भनिन्छ, अठारौं शताब्दी सम्ममा दुई तिहाई अल्बानियालीहरुले धर्म परिवर्तन गरेका थिए । ठूलो संख्यामा मुस्लिम जनसंख्या बनाउन सफल भएकै कारण सन् १९१३ सम्म अटोम्यान शासन टिकेको थियो ।

प्रथम विश्वयुद्धताका अल्बानियामा कुनै निश्चित सरकार नभएकोमा जोग ले शासन सुरु गरे । यो देश दोस्रो विश्वयुद्धताका सन् १९३९ देखि १९४३ सम्म इटाली र त्यसपछि जर्मन नाजीहरुको नियन्त्रणमा रह्यो । दोस्रो विश्वयुद्धपछि स्टालीन समर्थक कम्युनिष्ट नेता इन्भर होक्साले अल्बानियामा कम्युनिष्ट शासनको सुत्रपात गरे ।

यिनै ऐेतिहासिक घटनाहरु कादरीका उपन्यासका प्रमुख विषयवस्तु हुन् । विशेष गरी उपन्यासले हिटलरका नाजी सैन्य अल्बानियामा आएपश्चात् देखि कम्युनिष्ट शासनसम्मको घटनाक्रमलाइ समेट्छ । जर्मनी सैन्य स्वघोषित “स्वतन्त्रताका पुजारी”को भेषमा अल्बानिया छिरेपश्चातको पहिलो स्टेशन हो −जिरोकाष्टर अर्थात् प्राचिन ‘स्टोन सिटी’ । यहि शहर र यसको वरिपरी बिकसित घटना र मुख्यतः यस शहरले देख्नु भोग्नु परेका सन्दर्भहरुको सेरोफेरोमा कथा घुमेको छ । सोहि सहरमा एउटै नामधारी दुईजना डाक्टरहरु बस्थे, जसलाई छुट्याउन ‘बिग डाक्टर गुरामेटो’ र ‘लिटिल डाक्टर गुरामेटो’ भन्ने गरिन्थ्यो जसमध्ये भूमिकाको आधारमा पहिलो डाक्टर प्रमुख पात्र हुन ।

हुनत नाजी फौजको अघि अल्बानियालीले आत्मसमर्पण गर्नु सिवाय अर्को विकल्प थिएन यद्यपी केहिले प्रतिकार स्वरुप जर्मनका मोटरसाइकलमाथि आक्रमण गरेपछिको परिणाम स्वरुप सयौं अल्बानियालीलाई नाजी सैन्यले बन्दी बनाइसकेका थिए । तर कथाले एक फरक मोड लिन्छ जब बिग डाक्टर गुरामेटोले नाजी फौजका कमान्डर फ्रिज भोन स्वाबेलाई एक विशिष्ट आतिथ्यताका साथ आफ्नै घरमा रात्रीभोज आयोजना गरेर स्वागत गर्छन्, सन् १९४३ सेप्टेम्बर १६ तारिखका दिन । युद्घले थकित र बुढा देखिने सैन्य कमाण्डर र डा. गुरामेटो बिश्वविद्यालय पढ्दाका दोस्तीहरु थिए । तर यहि विषयलाई लिएर अल्बानियाली जनताहरु दुई खेमामा बाडिन्छन्— डाक्टर देशद्रोही या राष्ट्रसेवक ?

कमान्डरसँगको चिनजानी र डाक्टरको प्रयासको परिणामस्वरुप नाजी फौजले बन्दी बनाइएकाहरु  छुट्छन् जसमा सामान्य अल्बानियालीका साथै एक प्रसिद्ध औषधि व्यापारी यहुदी पनि थिए । डाक्टरका प्रसंशकले उनलाई एक कुशल कुटनीतिज्ञ भनेर उनको सफलताका प्रशंसा गरे भने विपक्षीहरुले जर्मनीमा पढेको स्त्रीरोग विशेषज्ञ डाक्टरले शत्रुलाई आतिथ्यता ग¥यो भनेर उनको खोइरो खने ।

डाक्टरलाई त्यतिबेला समस्या पर्छ जब दोस्रो विश्वयुद्धको समाप्ति पछि अल्बानियामा कम्युनिष्टहरुको शासन शुरु हुन्छ । उनीहरुले डाक्टरलाई नाजीहरुसँग सहकार्य गरेकोमा आलोचना मात्र गरेनन् उनी र उनीसँग नाम मिलेकै कारण दुबै डाक्टर यातनाको भागिदार बन्छन् । मुख्यतः यहुदीलाई छुटाएको विषयलाई लिएर डाक्टरलाई बढी नै केरकार गर्छन । जर्मनका शत्रु मानिने यहुदीलाई समेत छुटाएको यो घटनालाई एक संकास्पद देशद्रोही घटनाको रुपमा हेरिन्छ । यस घटनाका अनुसन्धानकर्ताले दबाब दिँदै सोध्छन, “तपाइँले भनेका सब कुरा साँचो हुन । तर यी सब कुराहरु हामीलाइ थाहा छन । हामीलाइ बाँकी कुरा भन्नुस, जुन हामीलाइ थाहा छैन । त्यो रहस्य ।” कथाको पछिल्लो भागमा त्यहाँ आएका सैन्य कमान्डर भोन स्वाबे साँच्ची नै डाक्टर गुरामेटोका पुराना मित्र थिए वा अरु कोहि ? भन्ने रहस्यले विशेष स्थान पाउँछ ।

भनिन्छ इतिहास आफैमा पनि सत प्रतिशत सत्य हुँदैन । इतिहासमा पनि केही न केही बढाइ—चढाइ हुन्छ भने इतिहास लेखन प्रायशः शक्तिबाट सञ्चालिन हुन्छ र सोही अनुसार लेखिन्छ र लेखाइन्छ । अर्कातर्फ साहित्य जहिले पनि कपोकल्पित मात्र हुँदैन बरु सामाजिक, राजनीतिक, साँस्कृतिक, घटना तथा परिघटनाबाट प्रभावित हुन्छ । यो उपन्यासमा बर्णित घटना पनि तत्कालिन समयका उपज हुन । जर्मनी, इटाली, अल्बानिया, रुस जस्ता यूरोपेली देशहरुको मध्य बिसौं शताब्दीको तत्कालिन संबन्धलाइ यो उपन्यासले प्रतिनिधित्व गर्छ । जर्मनी—ईटाली समूहको हार पछि बिजेता बनेका रुस लगायतका मुलुकले हारेका मुलुकहरु माथी गरेको ब्यबहारको चित्रणको एक प्रतिनिधि पात्र डाक्टर गुरामेटो आफैं हुन ।

यस उपन्यासमा पनि सत प्रतिशत सत्यताको दाबी गर्न नसकिए पनि तानाशाह र कम्युनिजमको चेपुवामा परेको डाक्टर गुरामेटो तत्कालिन यूरोपेली राजनैतिक अवस्थाको प्रतिनिधी पात्र भने अवश्य नै हुन । पुरातन शैलीमा समयको क्रमबद्घताका साथ (१९४३, १९४४, १९५३) लेखिएको यो उपन्यास ब्यङ्गबाण, उत्सुकता र यर्थाथता मिश्रित अल्बानियाको मध्य बिसौं शताब्दीको ‘फिक्सनलाइज्ड हिस्ट्री’ आख्यानात्मक इतिहास हो ।

लेखक : ईस्माइल कादरी
पुस्तक :  द फल अफ द स्टोन सिटी
अंग्रेजीमा अनुबाद  : जोन हड्सन
प्रकाशक : क्यानोनगेट
पृष्ठ संख्या : १६८


No comments:

Post a Comment